दफा ११
उद्योग, व्यवसाय तथा बसोबासको बस्तीलाई सार्न सक्ने
(१) संरक्षित जलाधार क्षेत्रभित्रको जग्गामा स्थापना भईरहेको उद्योग, व्यवसाय तथा बसोबासको बस्तीलाई भू तथा जलाधार संरक्षणको कार्यको लागि नेपाल सरकारले अन्यत्र सार्न वा त्यस्तो उद्योग, व्यवसाय वा बसोबासको बस्ती भएको जग्गा प्राप्त गर्न आवश्यक देखेमा नेपाल सरकारले त्यस्तो उद्योग, व्यवसाय तथा बसोबासको बस्तीलाई अन्यत्र सार्न वा सो भएको जग्गालाई जग्गा प्राप्ति सम्बन्धी प्रचलित कानून बमोजिम प्राप्त गर्नसक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै उद्योग व्यवसाय वा बसोवासको बस्तीलाई अन्यत्र सार्दा त्यसबाट सम्बन्धित व्यक्तिलाई हुन जाने नोक्सानीको उचित क्षतिपूर्ति नेपाल सरकारले दिनु पर्नेछ ।